पशुपतिनाथमा भक्तजनको घुइँचो, डोलेश्वरका चारै ढोका खुला

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपति क्षेत्रको बाहिरी भागबाट चार र भित्री भागमा आठवटा लामको व्यवस्था गरिएको छ ।
महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरमा विशेष पूजाका लागि चार सयवटा रसिद काटिएको छ । दुई सयवटा रसिदको पूजा बिहानै सम्पन्न भएको प्रवक्ता अधिकारीले बताए । महाशिवरात्रिका अवसरमा आज विशेष पूजाका लागि रु १५ हजार एक सय, रु ३५ हजार र रु ६५ हजारको रसिद काटिएको पनि कोषले जनाएको छ ।
महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि नेपाली सेनाले पुष्पवृष्टि पनि गरेको छ । नेपाली सेनाले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गरेको छ । अन्य विभिन्न संस्थाले पनि पशुपति क्षेत्रमा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन् ।
हंशमण्डपमा विभिन्न सङ्घसंस्थाले भोजन, पानीलगायत सेवा दिइरहेका छन् । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तलाई गत सोमबारदेखि नै गुठी संस्थान, कोषलगायत सरकारी एवं गैरसरकारी सङ्घसंस्थाले खाने–बस्ने व्यवस्था गरेका छन् ।
महाशिवरात्रिका दिन धेरै भीड हुने भएकाले कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेको फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
डोलेश्वरका चारै ढोका खुला
भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् ।