पाथीभरा क्षेत्रमा केवलकार निर्माण तत्काल रोक्न माग

काठमाडौं । सांसदहरुले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केवलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरुले जनताले केवलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा सांसद सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थपूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे । “सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको”, सांसद लिङ्देनले भने, “सरकारी तवरबाटै पाथीभरा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केवलकार बनाउन दिन निर्णय गरियो ।”

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केवलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए । सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केवलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केवलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने उल्लेख गरे ।

सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केवलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन् । साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर