सिन्धुलीमा आफ्नै छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

काठमाडौं । परीक्षाको प्रश्नपत्र दिन्छु भन्ने प्रलोभन देखाएर आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ स्थित निमावि बसेरीमा कक्षा ८ मा पढ्ने १४ वर्षीया छात्रालाई सोही विद्यालयका विज्ञान शिक्षक जाजरकोट भेरी नगरपालिका वडा नं. ९ का गोरख वि।कले जबर्जस्ती करणी गरेको भन्ने जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
परीक्षाको प्रश्नपत्र दिन्छु भनी कोठामा बोलाई बुधबार राति साढे दश बजेदेखि बिहीबार बिहान ३ बजेसम्म पटक पटक बलात्कार गरेको आरोप लागेका शिक्षक विकलाई शुक्रबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काका अनुसार शुक्रबार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक भेला भई छलफल गरी वडाअध्यक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी हरिहरपुरगढीको टोलीले शिक्षकलाई नियन्त्रणमा लिई बालिकाको उद्धार गरेको छ । बलात्कार आरोपी शिक्षकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । (तस्बिर : सांकेतिक)