नेपाली विद्यार्थी प्रकृति लम्सालको भैरहवामा अन्त्येष्टि

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि मध्यरातमै गरिएको छ।
भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए। प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा राखिएको थियो।
करिब ११ बजे प्रकृतिको शव सिद्धार्थनगर-८ स्थित निवासमा पुर्याइएको थियो। त्यहाँ उनको अन्तिम श्रद्धाञ्जलीका लागि ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए। दिउँसो १२ बजेपछि शवयात्रा निकालिएको थियो, जसमा भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत उनका सहपाठीहरू पनि सहभागी थिए। राति भैरहवा परिक्रमा गराएर शवलाई स्वर्गद्वारी घाट पुर्याइएको थियो, जहाँ हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए।
२०६१ असार ४ गते जन्मिएकी प्रकृति लम्साल आइतबार भारतको केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा कलेजकै एक नेपाली युवकको यातनाका कारण उनले आत्महत्या गर्न बाध्य भएको खुलेको छ। भारतीय प्रहरीले ती युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। घटनापछि केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू पनि असुरक्षाका कारण स्वदेश फर्किरहेका छन्।