ब्राजिल फर्किएपछि नेयमारले पहिलो गोल

काठमाडौं। ब्राजिल फर्किएपछि नेयमारले पहिलो गोल गरेका छन्। सोमबार भएको खेलमा उनले पेनाल्टीमार्फत गोल गर्दै सान्तोसलाई साओ पाउलोस्थित आगा सान्तामाथि ३–१ को जित दिलाए।
३३ वर्षीय स्टार खेलाडीले खेलको १४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो पुनरागमनलाई सहज बनाउने प्रयास गरे। सान्तोसका लागि थासियानोले २६औं मिनेटमा तथा गुइल्हेर्मेले ७०औं मिनेटमा नेयमारकै एसिस्टमा गोल गर्दै जित सुनिश्चित गरे।
नेयमारले अहिलेसम्म सान्तोसका लागि कुनै पनि खेलमा पूरा ९० मिनेट खेलेका छैनन्। पहिलो तीन खेलमा उनी सामान्य देखिएका थिए। तर, सोमबारको प्रदर्शनमा उनले आफूमा सुधार देखाए। उनी घुँडाको चोटपछि पुनः फिट हुने प्रयासमा छन्।
नेयमार गत अक्टोबरमा करिब एक वर्षको ब्रेकपछि फुटबलमा फर्किएका थिए। गत महिनामात्रै उनले साउदी क्लब अल–हिलालसँग आपसी सहमतिमा सम्झौता अन्त्य गरेको पुष्टि गरेका थिए। अल–हिलालमा उनले चोटका कारण कठिन समय बिताए, जहाँ सात खेल मात्र खेल्दै एक गोल गर्न सफल भए।
नेयमारले सान्तोससँग ६ महिनाको सम्झौता गरेका छन्। त्यसपछि सम्झौता विस्तार गर्ने सम्भावना पनि छ। उनले पहिलो पटक सान्तोसबाट २००९ देखि २०१३ को बीचमा खेलेका थिए, जहाँ २२५ खेलमा १३८ गोल गरे।
त्यसपछि उनी २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) मा २२२ मिलियन युरो (त्यतिबेला २६२ मिलियन डलर) मा गएका थिए, जुन त्यो समयसम्मकै कीर्तिमानी ट्रान्सफर थियो। २०२३ मा उनी ९० मिलियन युरो (९४ मिलियन डलर) मा अल–हिलाल पुगेका थिए।