नेपाली विद्यार्थी लम्सालको मृत्यु घटनामा एक पक्राउ, थप अनुसन्धान जारी

- काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी मृत्यु भएको घटनामा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी सरकारले कूटनीतिक पहलबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको बताएको छ ।
- उक्त विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनको मृत्युलाई लिएर नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विरोधपछि नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको थियो । सोही घटनाक्रमलाई लिएर सरकारले बिहानैदेखि पहल गरिरहेको र विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर अध्ययन गराउने पहल भएको परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताए ।
- उनले सरकारको तर्फबाट मृतक लम्सालको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरूसँग छलफल गरी समस्या समाधानको पहल गरेको बताए ।
- नेपाली दूतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क र समन्वय गरेको र सम्बन्धित सबै निकायहरूको महत्त्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको बताए । शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको र मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको बताए ।
- उनले भने, ‘भारतको उडिसास्थित कालिंका इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको निधनको खबरले हामी दुखित भएका छौँ । मृतक प्रकृति लम्सालको आत्माको चीर शान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । उक्त इन्स्टिच्युटमा विकसित घटनाक्रम र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको जानकारी प्राप्त हुनासाथ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उक्त शैक्षिक संस्थाका रजिस्टार लगायत प्रतिनिधिहरूसँग छलफल गरी समस्या समाधानको पहल गरेको थियो । साथै नेपाली दूतावासले मित्रराष्ट्र भारतको केन्द्र सरकार एवं उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क र समन्वय गरेको थियो । सम्बन्धित सबै निकायहरूको महत्त्वपूर्ण सहयोगमा उक्त समस्याको समाधान खोजिएको छ । उक्त शैक्षिक संस्थाले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासमा नै बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको छ । साथै मृतक प्रकृति लम्सालको आत्महत्या प्रकरणसँग जोडिएका एक जनालाई भारतीय प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ । यस विषयमा स्वतन्त्र र निष्पक्ष छानबिन हुनेछ र दोषीहरूमाथि कारबाही हुनेछ । सो शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको छ र गर्नेछ । भोलि नेपाली राजदूतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरू उडिसास्थित उक्त शैक्षिक संस्थामा गई सम्बन्धित सबै निकायहरूसँग थप समन्वय गर्नुहुनेछ ।’
- उनले स्वतन्त्र र निष्पक्ष छानबिन हुने र दोषीहरूमाथि कारबाही हुने विश्वास मन्त्रालयको रहेको पनि बताए । शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको र मंगलबार नेपाली राजदूतावास नयाँ दिल्लीबाट प्रतिनिधिहरू उडिसास्थित उक्त शैक्षिक संस्थामा गई सम्बन्धित सबै निकायहरूसँग थप समन्वय गर्ने जानकारी दिए ।
प्रतिक्रिया