आज हमासले तीन र इजरायलले ३६९ कैदीलाई छोड्ने तयारी

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले आज तीन इजरायली बन्धकलाई रिहा गर्दैछ । रिहा हुने बन्धकमा २९ वर्षीय रूसी–इजरायली नागरिक अलेक्जेन्डर साशा ट्रोफानोभ, ४६ वर्षीय अर्जेन्टिनी–इजरायली नागरिक यायर हर्न र ३६ वर्षीय अमेरिकी–इजरायली सागुई डेकेल–चेन रहेका छन् । युद्धविराम सम्झौता अन्तर्गत छैटौं पटक हमासले रिहा गर्न लागेको हो ।
इजरायली प्रधानमन्त्री कार्यलयले समेत हमासले सार्वजनिक गरेको सूची आफूहरूले प्राप्त गरेको जनाएको छ । यस्तै तीन बन्धकको बदलामा इजरायलले सम्भवतः ३६९ जना प्यालेस्टिनी कैदी बन्दीलाई रिहा गर्ने हमासले बताएको टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमध्ये ३६ जना आजीवन कारावास भोग्दै आएको बताइएको छ ।यसअघि हमासले युद्धविरामका सर्तहरू इजरायली पक्षले उल्लंघन गरेको कारण थप बन्धकलाई रिहा गर्नबाट रोक्ने बताएको थियो । लगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा फेरि युद्ध सुरू गर्ने चेतावनी दिएका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्धविराम भंग गर्न र विनाश सिर्जना गर्न समेत इजरायली पक्षसमक्ष प्रस्ताव राखेका थिए ।
इजरायल र हमासबीचको आरोप प्रत्यारोपले गर्दा गाजा युद्धविराम भंग हुने खतरा बढेपछि इजिप्ट र कतारका वार्ताकारहरू सम्झौता जोगाउने कसरतमा जुटेर आश्वासन दिएपछि हमासले पुनः इजरायलसँगको गाजा युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र सहमति भएको समयसीमाभित्रै बन्धकलाई रिहा गर्ने बताएको थियो ।