भारतले इङ्गल्याण्डमाथिको श्रृंखला जित्यो

काठमाडौं ।  इङ्गल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला भारतले जितेको छ । लगातार दुई खेल जित्दै भारतले एक खेलअघि नै तीन खेलको श्रृंखला जितेको हो ।

कटकमा आइतबार राति भएको दोस्रो खेल भारतले ४ विकेटले सहजै जित्यो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४९.५ ओभरमा अलआउट हुँदै ३०४ रन बनायो । जो रुटले ६९ तथा बेन डुकेटले ६५ रन बनाए । रुटले इङ्गल्याण्डका लागि सबैभन्दा बढी ५६ अर्धशतक बनाएका छन् । पूर्व कप्तान आयन मोर्गानको नाममा ५५ अर्धशतक छ ।

रविन्द्र जडेजाले ३ तथा ३३ वर्ष १६४ दिनमा एक दिवसीयमा डेब्यु गरेका वरुण चक्रवर्थीले १ विकेट लिए । उनी बढी उमेरमा डेब्यु गर्ने दोस्रो भारतीय हुन् । यसअघि सन् १९७४ मा फारुख इन्जिनियरले ३६ वर्षको उमेरमा इङ्गल्याण्ड विरुद्ध डेब्यु गरेका थिए । जवाफमा ३०५ रनको चुनौती भारतले ४४.३ ओभरमै ६ विकेट गुमाएर पूरा गरेको हो । भारतका लागि कप्तान रोहित शर्माले ९० बलमा ११९ रन बनाए । त्यस्तै शुबमन गिलले ६०, श्रेयस एथ्यरले ४४ तथा अक्षर पटेलले ४१ रन बनाए ।

विराट कोहली भने ८ बलमा ५ रन बनाएर आउट भए । रोहितले ३२ औँ शतक बनाए । उनीभन्दा अगाडि विराट कोहली ५० तथा सचिन तेन्दुलकर ४९ शतक रहेका छन् । उनले कम बलमा शतक बनाउने आफ्नो दोस्रो रेकर्ड पनि राखे । उनले ७६ बलमा शतक बनाएका हुन् । रोहितले १६ महिनापछि शतक हानेका हुन् । उनी एक दिवसीयमा सबैभन्दा बढी छक्का हान्ने खेलाडीको दोस्रो स्थानमा पुगेका छन् ।

उनले २५८ इनिङ्समा ३३८ छक्का लगाइसकेका छन् । रोहित भन्दा अगाडि संन्यास लिइसकेका पाकिस्तानी खेलाडी शाहीद अफ्रिदी छन् । उनले ३६९ इनिङ्समा ३५१ छक्का हानेका छन् । रोहितले क्रिस गेलको रेकर्ड तोडेका छन् ।

वेष्ट इन्डिजका गेलले २९४ खेलमा ३३१ छकका हानेका छन् । साथै यो खेलमा विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा ३२९ क्याच पूरा गरेका छन् । पहिलो नम्बरमा श्रीलंकाका माहेला जयवर्धने छन् । उनको नाममा ४४० क्याच छ ।

विराट भन्दा अगाडि अष्ट्रेलियाका रिक्की पोन्टिङ (३६४), न्यूजिल्याण्डका रोस टेलर (३५१), दक्षिण अफ्रिकाका ज्याक कालिस (३३८) र भारतका राहुल द्रविड (३३४) क्याच रहेका छन् । जितसँगै भारतले तीन खेलको श्रृंखलामा २–० को अग्रता लिएको छ । तेस्रो खेल बुधबार अहमदाबादमा हुनेछ । यसअघि पहिलो खेलमा भारत १५० रनले विजयी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर