विपी राजमार्ग तत्काल पुनर्निर्माण गर्न स्थानीयको माग

काठमाडौं । विपी राजमार्ग पूर्वको जीवनरेखा (लाइफ लाइन) हो । सिन्धुलीसहित पूर्वी तराईका विभिन्न जिल्लासँग छोटो दुरीमा जोड्ने विपी राजमार्ग गत असोजको बाढीले बगाएपछि निकै जोखिमयुक्त भएको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डको करिब १५ किलोमिटर ठाउँ-ठाउँमा विपी राजमार्गको नामोनिशान नै छैन । बाढीले राजमार्ग बगाएपछि अस्थायी रूपमा रोशी खोलैखोला भएर यातायात सञ्चालन भइरहेको छ । बाढीले राजमार्ग बगाएको पाँच महिना बितीसक्दा पनि पुनर्निर्माणको काम अगाडि बढेको छैन । बर्षायाम नजिकिँदै गर्दा राजमार्ग पुनर्निर्माणको थालनी नभएपछि स्थानीय चिन्तित भएका छन् ।
सिन्धुलीको विकासको मेरुदण्ड बनेको विपी राजमार्ग बाढीले भत्किएसँगै बर्खायाममा सो राजमार्गले जोडेको सिन्धुली काठमाडौंको सिधा सम्पर्क टुट्ने भएको छ । झन्डै २० बर्ष लगाएर जापान सरकारको करिब २६ अर्ब रुपैयाँको अनुदान सहयोगमा निर्माण भएको विपी राजमार्ग बाढीपश्चात् करिब १२ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको छ । बाढीले क्षतविक्षत बनाएपछि यात्रा जोखिमपूर्ण भएको यात्रुहरुको भनाइ छ । बर्षाअगाडि विपी राजमार्गको निर्माण तत्कालै सुरु नगरिए बर्खा लागेसँगै यो राजमार्ग पूर्णरूपमा बन्द हुने निश्चित छ । जसको मारमा विपी राजमार्ग भएर चल्ने सवारी तथा यात्रु राजमार्गमा खुलेका होटल एवम् समग्र पक्षमा पर्नेछ ।
बाढीले बगाएको राजमार्ग बनाउन करिब १० अर्ब बजेट लाग्ने प्रतिवेदन छ । सरकारले तत्काल पचास करोड रुपैयाँ बजेट उपलब्ध गराएर स्रोत सुनिश्चित गरी राजमार्ग पुनर्निर्माणमा ठेक्का लगाउनुपर्ने सिन्धुली क्षेत्रनम्बर २ का सांसद लेखनाथ दाहाल राजन बताउँछन् । विपी राजमार्ग नेपालमै पहिलो पटक सर्टक्रिट र जियोटेक प्रविधिको प्रयोग गरी बनाइएको निकै सुन्दर राजमार्ग हो । सरकारले यस राजमार्गको निर्माण जतिसक्दो छिटो गर्नुपर्ने स्थानीयको माग छ ।