सल्यान महोत्सव स्थलमा भीषण आगलागी, ८० वटा स्टल नष्ट

काठमाडौं । सल्यानमा आयोजित महोत्सव स्थलमा भीषण आगलागी भएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो वृहद सल्यान महोत्सव स्थलमा आगलागी भएको हो । आठ दिनदेखि जारी दोस्रो वृहद सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । यही माघ १८ गतेदेखि जारी महोत्सवमा हिजो शनिबार ८औं दिनको राति आगलागी भएको हो ।
महोत्सवमा राखिएका १३५ स्टल मध्ये ८० वटा स्टल आगलागीमा परेर नष्ट भएको राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए । उनका अनुसार गए राति ११ बजेतिर आगलागी भएको थियो । आगलागीबाट ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन र आगो के कसरी आगलागनी भएको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।