दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै
![दिल्लीमा केजरीवालले चुनाव हारे, भाजपाको सरकार बन्दै](https://www.rafatnews.com/wp-content/uploads/2024/03/arvind-kejriwal-1706886223.jpg)
काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत ल्याउने निश्चित भएको छ। बुधबार सम्पन्न मतदानको मतगणना शनिबार बिहानदेखि सुरू भएको थियो। दिउँसोसम्मको नतिजाले यसपालि दिल्लीमा भाजपाले बहुमत ल्याउने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अपराह्नसम्मको मतपरिणामअनुसार ७० मध्ये ८ सिटमा भाजपा उम्मेदवार विजयी भएका छन् भने ४१ सिटमा अग्रता लिइरहेका छन्। त्यस्तै आम आदमी पार्टीका उम्मेदवार ८ सिटमा विजयी र १३ सिटमा अग्रता लिइरहेका छन्। कंग्रेस आईले कुनैपनि सिटमा जित र अग्रता लिएको छैन। दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन्। केजरीवाललाई भाजपाका प्रवेश शाहिब सिंहले पराजित गरे। उनले ३० हजार २४ मत ल्याएका छन्। त्यो भनेको कुल खसेको मतको ४८.८५ प्रतिशत हो।
केजरीवालले २५ हजार ९२५ मत पाए। त्यो भनेको ४२.१८ प्रतिशत हो। कंग्रेस आईका सन्दीप दिक्षितले ४ हजार ५४१ मत ल्याए। उनले ७.३९ प्रतिशत मत पाए। यसअघि २०२० मा अरविन्द केजरीवालले ४६ हजार ७५८ मत ल्याएका थिए। त्यतिबेला भाजपाका सुनिलकुमार यादवले २५ हजार ०६१ मत ल्याएका थिए। भारतीय नेशनल कंग्रेसका ३ हजार २२० मत मात्रै ल्याएका थिए।