ओली दुनियाँ ठग्नका लागि प्रधानमन्त्री बने : अध्यक्ष नेपाल
![ओली दुनियाँ ठग्नका लागि प्रधानमन्त्री बने : अध्यक्ष नेपाल](https://www.rafatnews.com/wp-content/uploads/2023/08/madhav_nepal.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।
पार्टीको काठमाडौंमा शनिवार आयोजित प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरे । उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर काँग्रेससँग मिलेर सरकार बनाएको बताए ।
उनले प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्षसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको बताए । उनले प्रधानमन्त्री ओलीलाई दुनियाँ ठग्नको लागि प्रधानमन्त्री बनेको टिप्पणी गरे । प्रधानमन्त्री ओली देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि नभई सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएको आरोप लगाए ।
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गर्नुभयो । नेता वामदेव गौतम र डा. भीम रावललाई स्वागत गर्न आफूहरू तयार रहेको बताए ।