थाइल्यान्डलाई महिला टी-२०आई शृंखलाको उपाधि

काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स, र थाइल्यान्डबीचको त्रिकोणात्मक टी-२०आई शृंखलाको उपाधि थाइल्यान्डले जितेको छ।नेपालमाथि थाइल्यान्डले ७ विकेटको जित हासिल गरेको हो। शुक्रबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो। थाइल्यान्डका लागि कप्तान नारोमोल चाइवाईले सर्वाधिक २७ रन बनाउँदै अविजित रहिन्। उनले ३४ बलमा दुई चौका प्रहार गरिन्।
थाइल्यान्डकी ओपनर अफिसराले ५ बलमा ५ रन बनाएर पेभिलियन फर्किन्। अर्की ओपनर नथाया बोचुथाम ११ रन बनाउँदै आउट भइन्। उनले १३ बलमा दुई चौका प्रहार गरिन्। थाइल्यान्डकी नानपत कोन्चारोन्काइले २३ रन बनाउँदै मैदान छोडिन्। उनले ३२ बलमा एक चौका प्रहार गरिन्। फनिता मायाले ९ रन बनाउँदै नटआउट रहिन्। नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन्।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको थियो। नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १९ रनको योगदान दिइन्। उनले २९ बलमा एक चौका प्रहार गरिन्। नेपालकी अर्की ओपनर बिन्दु रावल ७ रन बनाउँदै पेभिलियन फर्किन्।
उनले १५ बलको सामना गर्दै एक चौका प्रहार गरिन्। नेपालकी पूजा महतोले ६, रुबिना क्षेत्रीले १ तथा कप्तान इन्दु बर्माले १० रन बनाएर आउट भइन्। कविता जोशीले १४ रन बनाउँदा अलिश कुमारी यादव शून्य रनमै पेभिलियन फर्किन्। सीता राना मगरले ७ तथा राजमती ऐरीले ११ रन बनाउँदै नटआउट रहिन्। थाइल्यान्डका लागि ओनिचा कामपोचुमले सर्वाधिक तीन विकेट लिइन्।
चन्दी सुतिरंग र सुलिपोरन लोमीले समान एक-एक विकेट लिए। थाइल्यान्डले हालै सम्पन्न सिरिजमा नेदरल्यान्ड्ससँग एक खेलमा पराजय भोगेको थियो। नेपालले खेलेका छ वटा खेलमध्ये कुनै पनि जित्न सकेन। नेदरल्यान्ड्सले ४ खेल जित्दा २ खेलमा पराजित भयो। नेदरल्यान्ड्सले दुवै खेलमा थाइल्यान्डसँग हार व्यहोरेको थियो।