पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताएका छन् । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले नेपाली नागरिक बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको जानकारी गराए । उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताउँदै उनले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए । प्रधानमन्त्री ओलीले भने, “हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरू, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छौं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरू जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।”