महिला त्रिकोणात्मक क्रिकेट : नेपालको हार जारी

काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा नेपालको हारको शृंखला रोकिएको छैन । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।

लगातार चौथो जितसँगै थाइल्यान्ड उपाधि नजिक पुगेको छ । जितका लागि थाइल्यान्डले दिएको एक सय सात रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा आठ विकेटको क्षतिमा एक सय एक रनमा समेटिएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कविता जोशीले २४, रोमा थापाले अविजित १९ र पूजा महतोले १८ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङलले चार ओभरमा एक मेडनसिहित १० रन खर्चिँएर चार विकेट लिइन् । फान्निता मायाले दुई विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । थाइल्यान्डका लागि चनिदा सुथिराङले अविजित सर्वाधिक २७ रन बनाइन् ।

यस्तै थिपाथ्चा पूथावोङले अविजित २५ र नानपत कोन्चारोन्काइले १९ रन बनाइन् । बलिङमा नेपालकी मनीषा उपाध्यायले तीन विकेट लिनुभयो । पूजा महतो र रचना चौधरीले एक एक विकेट हात पारिन् । लगातार चौथो जितसँगै थाइल्यान्ड आठ अङ्कसहित शीर्षस्थानमा रहेको छ । सिरिजमा अब थाइल्यान्डले नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । नेपालले पनि थाइल्यान्ड र नेदरल्यान्ड्सँग एक एक खल खेल्न बाँकी छ । समान खेलबाट ६ अङ्क बनाएको नेलरल्यान्ड्स दोस्रो स्थानमा छ । नेपालले अङ्कको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड्सको पनि शीर्ष स्थानमा रहेर उपाधि जित्ने सम्भावना बाँकी छ । नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर