सरकारले ६ महिनामा राम्रो काम गर्‍यो, भविष्यमा पनि असल परिणाम दिनेछ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले अहिलेको सरकारले ६ महिनामा राम्रा काम गरेको र भविष्यमा पनि असल परिणाम दिने बताएका हुन् ।

उनले भने, ‘‘सरकार यस मार्गमा सकारात्मक रूपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु। कुनै पनि सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय प्रयाप्त होइन। सरकारले यो अवधिमा गरेका काम राम्रा छन् यसले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।’

सभापति देउवाले आर्थिक अवस्था सुदृढ नहुँदा विकास वा समृद्धिको यात्रा चाहनाअनुसार अगाडी बढ्न नसकिएको बताए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सात बुँदे सहमति भएर सरकार गठन भएको उनले स्मरण गराए ।

यस्तो छ सभापति देउवाको सम्बोधनको पूर्णपाठ :

सम्माननीय सभामुख महोदय,

वि.सं. २०७९ को आम निर्वाचन पश्चातको संघीय संसद्को पाँचौँ अधिवेशन आह्वान भई प्रतिनिधि सभाको यो बैठक प्रारम्भ भएको छ । प्रजातन्त्र प्राप्तिको झण्डै ७५ वर्षको अवधिमा हामीले धेरै राजनीतिक आरोह-अवरोहको अनुभव गरेका छौ । सहिदहरूको बलिदान र कैयौँ सपुतहरूको त्यागले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । म सबैभन्दा पहिले लोकतन्त्रका लागि जीवन आहुति दिने सबै ज्ञात अज्ञात प्रातः स्मरणीय शहीदहरूको बलिदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण चाहन्छु । लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गर्ने सबै अग्रज नेताहरू प्रति सम्मान व्यक्त गर्न चाहन्छु र लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने सबैलाई सम्मानपूर्वक प्रशंसा गर्न चाहन्छु। संसद्को यो अधिवेशनमा माननीय सदस्यज्यूहरूलाई स्वागत गर्दछु । संसद्को यो अधिवेशन देश र जनताका पक्षमा काम गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

सभामुख महोदय,

संसद्को हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रूपमा लिइन्छ। पहिले देखिका धेरै विधेयक संसदमा विचाराधीन छन्। सरकारले नयाँ विधेयक पनि सदनमा प्रस्तुत गर्दैछ ।

लोकतन्त्रमा विधिको शासन हुनुपर्दछ । हाम्रा प्रत्येक काम कारबाही कानुनबाट निर्देशित हुनुपर्दछ । संविधानको कार्यान्वयनको लागि होस् वा अन्य काम गर्नका लागि आवश्यक कानुन सदनले नै बनाउने हो। तसर्थ संसद्मा विचाराधीन सबै विधेयक यो अधिवेशनबाट पारित हुने मैले विश्वास लिएको छु ।

वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको छ। विगतमा सरकार स्थिर हुन नसकेको कारण देशको राजनीतिक र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो सरकार गठन गरिएको हो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य राजनीतिक दलहरूको पनि सरकारमा सहभागिता र समर्थन रहेको छ। नेपाली कांग्रेस र (एमाले) बिचको सात बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य सहयोगी राजनीतिक दलहरूको पनि निरन्तर सहयोग रहने छ भन्ने मैले विश्वास गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र यसै व्यवस्थाका माध्यमले मुलुकमा दिगो शान्ति स्थापना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूति गर्ने, देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने, विकास निर्माणलाई तीव्र गति दिने र देशको आर्थिक अवस्थालाई सुदृढ गर्दै संवृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य ध्येय हो। सरकार यस मार्गमा सकारात्मक रूपले काम गरिरहेको छ र आगामी दिनमा पनि राम्रो काम गर्दै जानेछ भन्ने मैले विश्वास लिएको छु । कुनै पनि सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय पर्याप्त होइन । सरकारले यो अवधिमा गरेका काम राम्रा छन् यसले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।

मुलुकको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृढ अर्थतन्त्र आवश्यक हुन्छ । हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौँ तर आर्थिक अवस्था सुदृढ हुन सकेको छैन। परिणामस्वरूप विकास वा संवृद्धिको यात्रा चाहना अनुसार अगाडी बढ्न सकेको छैन। हाम्रो देशको आर्थिक अवस्था उकास्न जरुरी छ। हालै सरकारले व्यावसायिक वातावरण प्रवर्द्धन गर्न, देश भित्र र बाहिरबाट लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याएको छ। यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास गरेको छु। सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि पनि सरकारले कानुन बनाएको छ। यी कानुनहरूले देशमा सुशासन कायम गर्ने, भूमिहीन सुकुम्वासी एवम् अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने, सहकारीको क्षेत्रमा देखा परेको समस्या समाधान गर्नेछ । यी कानुनहरूले आर्थिक क्षेत्रमा क्रियाशील निजी क्षेत्र उत्साहित र सकारात्मक भएको मैले पाएको छु। ती अध्यादेशहरू सम्मानित सदनबाट स्वीकृत हुने छन्। पछि पेस हुने प्रतिस्थापन विधेयकमा आवश्यक भए थप परिमार्जन गरी पारित गर्न म आग्रह गर्दछु । साथै यी कानुन कार्यान्वयन गर्न यथाशक्य चाँडो आवश्यक नियम बनाउन सरकारलाई आग्रह गर्दछु ।

संसद्मा कानुन निर्माणको विषयले राम्रो गति लिन नसकेको गुनासो सुनिने गरेको छ । संसद्मा संविधानको कार्यान्वयनसँग र नागरिकको प्रत्यक्ष सरोकारका विधेयक विचाराधीन छन् । मैले अघि नै भनी सके लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन हो। कानुन निर्माणको थलो संसद नै हो। तसर्थ हामीले आवश्यक कानुन बनाउन ढिलाइ गर्नु हुँदैन। म यस विषयमा माननीय सांसदहरूको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु । संविधानको कार्यान्वयनसँग सम्बन्धित र नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरू पनि सरकारले चाँडै संसद्मा पेस गरोस् भन्ने आग्रह गर्दछु ।

वर्तमान संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको छ। दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखा परेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकता अनुसार संविधान संशोधन वा परिमार्जन

गर्नु पर्दछ। संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ । संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन । राजनीतिक दलहरूका बिचमा सहमतिका आधारमा संविधान संशोधन गर्नु पर्दछ। यस बारेमा हामीले छलफल प्रारम्भ गरी सकेका छौँ। हामीले अन्य राजनीतिक दलहरूसँग पनि संवाद, सहमति र सहकार्यका साथ अगाडी बढ्नु पर्दछ ।

लोकतान्त्रिक पद्धति संसारको उत्कृष्ट शासन व्यवस्था हो। लोकतन्त्रको कुनै अर्को विकल्प हुन सक्दैन, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो। यसै राजनीतिक प्रणालीले नै राष्ट्रलाई समुन्नत बनाउन सक्दछ । तसर्थ लोकतन्त्रको विकल्प खोज्ने होइन बरु यसलाई थप सुदृढ बनाउँदै नागरिककको जीवनसँग जोड्नु पर्दछ। हामीले अवलम्बन गरेको शासकीय प्रणालीमा लोकतन्त्रका सबै गुण विद्यमान छन्। संसारको कमै देशमा भएको समानुपातिक प्रतिनिधित्व, समावेशी प्रणाली हामीले अपनाएका छौँ । नागरिकका सबै मौलिक हक सुरक्षित गरिएका छन् । हामी राजनीतिक रूपले अधिकार सम्पन्न भएका छौँ । अब आर्थिक रूपले पनि सबल हुनु पर्दछ।

लोकतन्त्र अनुशासनको पद्धति पनि हो। लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रूपमा बुझ्नु हुँदैन । लोकतन्त्रको विशाल स्वतन्त्रताको छहारीमुनि सभ्य, शिक्षित र सुसंस्कृत समाज निर्माण गर्नु पर्दछ ।

सभामुख महोदय,

अन्तमा फेरी एक पटक यो अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु।

धन्यवाद.

जय नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर