संसद्लाई नै छलेर अध्यादेश ल्याइयो : पाण्डे
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डले नियमित संसद् बोलाउने समयमा संसद्लाई नै छलेर अध्यादेश ल्याइएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले थपे, ‘छिटो काम गर्ने नाममा अध्यादेशहरू ल्याइएका छन्। संसद्मा सांसदहरूको भूमिकालाई मिनिमाइज गर्ने काममा सरकार लागेको छ। हो, आवश्यक परे अध्यादेशहरू ल्याउन सकिन्छ। तर, तिनले के उद्देश्य राखेका छन्, ती महत्त्वपूर्ण कुराहरू हुन्।’
पाण्डेले संसद्को समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध गरेका छन् । उनले भने ‘सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याउन पाइन्छ । संविधानमा उल्लेख छ । अध्यादेश संसद्को समितिमा छलफल भइरहेका बेला फिर्ता नलिई सरकार अध्यादेशमार्फत जान खोजेको त्यो बेठिक छ । समितिमै छलफल गरेको भए छिटो कानुन बन्थ्यो । जसरी सरकार संसद् छलेर अध्यादेशको बाटोमा गएको छ । त्यसको विरोध गर्दछौं ।’
पाण्डेले दुई ठूला दलहरू मिलेर बनेको सरकारले भ्रष्टाचारको विरूद्धमा जसरी काम गर्नुपर्ने हो त्यसरी नगरेको बताएका हुन् । ‘भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्नुभयो। त्यो ठीक छ,, उनले भने, ‘तर भुटानी शरणार्थी लगायत हालसम्म आएका विभिन्न काण्डहरू जति भइरहेका छन् तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन ?’
प्रतिक्रिया