अमेरिकी विमान दुर्घटना : ४० जनाको शव प्राप्त, बाँकी जीवित नरहेको आशंका
काठमाडौं । अमेरिकाको वासिङ्टन डिसीमा हिजो मध्य आकाशमा सैन्य हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त विमानमा सवार कोही पनि जीवित रहने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।
हालसम्म ४० जनाको शव पोटोम्याक नदीबाट निकालिएको छ । विमानमा चालक दलका सदस्य सहित ६४ जना यात्रु र हेलिकप्टरमा ३ जना सवार रहेका थिए । अधिकारीहरुका अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।
दुर्घटनाको कारण हालसम्म पत्ता लागेको छैन । विमानको फ्लाइट डाटा रेकर्डर ब्लाक बक्स भर्खरै फेला परेकाले दुर्घटनाको कारण पत्ता लगाउन सहज हुने अनुमान गरिएको छ । नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । बोर्डले एक महिनामा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ । विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको थियो ।
अत्यधिक चिसोका कारण खोज तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाले आफ्नो मुटु नै चकनाचूर भएको भन्दै शोक व्यक्त गरेका छन् । साथै दुर्घटनामा ज्यान गुमाउनेका परिवारसँग भेट गर्ने बताए ।