ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जिप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको निधन भएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए । ‘माया र पूजन आमाछोरा भएको खुलेको छ,’ कार्कीले भने, ‘तारा भने मायाको बहिनी भन्ने सुन्नमा आएको छ । हामी बुझ्दै छौं ।’
पूजनको खुट्टामा ब्यान्डेज भएकाले अस्पताल लैजाँदै गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया