युएसएडको अनुदान ९० दिनका लागि स्थगित : एमसिसी यथावत्

काठमाडौं ।  अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार र युएसएडबिच सन् २०२२ मे ५ तारिखमा भएको सम्झौता अनुसार नेपाललाई प्राप्त सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तान हुने प्रकृतिका अनुदान सहयोग तत्कालका लागि ९० दिनलाई स्थगित भएको मन्त्रालयले जनाएको हो । युएसएड नेपालले मन्त्रालयलाई पत्र लेख्दै ती परियोजना स्थगित भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार बजेट प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुने गरी ‘युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ गरी चार वटा सहायता परियोजना अमेरिकी सहयोगमा सञ्चालित छन् । मन्त्रालयले यस अवधिका लागि स्थगित गरिएका आयोजना अन्तर्गत कुनै दायित्व सिर्जना नगर्न पनि सम्बद्ध सबै निकायलाई सचेत गराएको छ ।

युएसएड अमेरिकी सरकारले विभिन्न देशलाई अनुदान सहायता प्रदान गर्ने निकाय हो । नेपालमा यो निकायले बजेटरी प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुनेबाहेक सोझै खर्च गर्ने गरी अन्य सहायता परियोजना पनि सञ्चालन गरिरहेको छ । सरकारको बजेटरी प्रणाली र कोषमा पनि नआउने त्यस्ता अनुदान सहयोग पनि केही समयका लागि स्थगित हुने छन् । यस्ता परियोजना १५० भन्दा बढी छन् ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता कार्यभार समालेलगत्तै खर्च कटौती योजना अन्तर्गत विश्वभर उपलब्ध गराइएको अनुदान कटौती गर्ने निर्णय ट्रम्स प्रशासनले गरेको थियो । जस अनुसार खास गरी युएसएडमार्फत उपलब्ध गराइएका त्यस्ता परियोजना ९० दिनका लागि स्थगित भएका छन् । यसबिचमा त्यस्ता परियोजनाको मूल्याङ्कन गरी आवश्यकता र औचित्यका आधारमा मात्रै पुनः सञ्चालन गर्ने अमेरिकी सरकारको योजना छ ।

एमसिसी यथावत्

अमेरिकी सरकारको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) परियोजना भने तत्कालका लागि यथास्थितिमै सञ्चालन हुने भएको छ । अमेरिकी सरकारको निर्णय अनुसार तत्काललाई युएसएडमार्फत सञ्चालित अनुदान परियोजना स्थगित गर्न सूचना आएकाले एमसिसी परियोजनामा असर नगर्ने विश्वास गरिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार एमसिसी परियोजना अहिलेसम्मका लागि सुरक्षित नै रहेको छ ।

प्रसारण लाइन निर्माण र सडक पूर्वाधार स्तरोन्नतिका लागि अमेरिकी सरकारले सञ्चालन गरेको एमसिसी नेपालमा सञ्चालित सबैभन्दा ठुलो अनुदान परियोजना हो । अर्थ मन्त्रालयमातहतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल अन्तर्गत कार्यान्वयन भइरहेको एमसिसी छुट्टै कानुनबाट सञ्चालित परियोजना हो ।

युएसएडभन्दा अलग सहायता परियोजनाका रूपमा अमेरिकी संसद्बाट छुट्टै कानुन पास भएर एमसिसी परियोजना नेपालसहित विश्वका धेरै देशमा सञ्चालित छ । अमेरिकी सरकारको पछिल्लो निर्णय युएसएडमार्फत सञ्चालित परियोजनालक्षित भएकाले एमसिसीको काम निरन्तर रहने अर्थ मन्त्रालयको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर