शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक १०.४१ अंकले घटेर २ हजार ६ सय ४३ दशमलव ९३ को विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ११६ वटा कम्पनीको मूल्य बढेको छ भने १२१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
आज २ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३९ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।