चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन रोक्न माग
काठमाडौं । माघ ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘एक्टर’ र १६ गतेदेखि प्रदर्शन हुन लागेको ‘एक्टर : टेक वन’को नाम विवाद अदालतमा पुगेको छ ।
चलचित्र ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न माग गर्दै ‘एक्टर’ चलचित्रका निर्माताले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका छन् । ‘एक्टर’ चलचित्रका प्रस्तोता नेपाली डायस्पोरा इन्टरटेनमेन्ट प्रा.लि.को तर्फबाट सम्राट थापाले अदालतमा मुद्दा हालेका हुन् ।
दायर रिटमा प्रतिलिपि अधिकार बमोजिम कारबाही गरी उचित क्षतिपूर्ति उपयुक्त आदेश माग गरिएको छ । रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ ।
‘विपक्षीहरुको कार्यले मेरो चलचित्रको विषयमा आम दर्शकहरुका माझ भ्रमको अवस्था सिर्जना भई मेरो फिल्मले तत्काल आशातित व्यवसाय गर्न नसकेको अवस्था छ भने मैले निकट भविष्यमा विदेशमा चलचित्र प्रदर्शन गर्ने योजना बनाएकोमा विपक्षीहरुको कार्यले मलाई धेरै क्षति हुने अवस्था छ,’ रिट निवेदनमा ‘एक्टर : टेक वन’को नाम परिवर्तन गर्न समेत आदेश माग गरिएको छ ।
साथै, रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म चलचित्रको प्रदर्शन रोक्न माग गर्दै भनिएको छ, ‘विपक्षीले हाम्रो नाम र कथावस्तु चोरी गरि निर्माण गरेको ‘एक्टर: टेक वन’ यही माघ १६ गते देशव्यापी प्रदर्शन गर्ने मिति तय गरेका छन् । उक्त दिन सो चलचित्र प्रदर्शन गरेमा प्रस्तुत मुद्दाको औचित्य समाप्त हुने हुँदा, मुद्दाको अन्तिम किनारा नभएसम्म उक्त चलचित्रलाई कहीँ कतै प्रदर्शन नगर्नु नगराउनु भनि रोक्काको आदेश जारी गरिपाउँ ।’