बाख्रा चराउन गएका दुई किशोरी मृत भेटिए
काठमाडौं । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका छन् । प्रहरीका अनुसार ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी १४ वर्षीय ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी १५ वर्षीय सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।
उनीहरू शुक्रबार बिहान घरबाट बाख्रा चराउन निस्केका थिए । दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।
शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरू भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए ।
यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया