आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् । बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधनसभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताए। उनले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरे ।
आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकास हामीहरु आफैँले गर्नुपर्ने र यसमा विदेशी सहयोगी हातहरुको पनि साथ लिने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरुलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरे ।