सरकार ढाल्ने काममा माओवादीको रुचि छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरुले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको स्पष्ट गरे । यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको आरोप लगाउँदै उनले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पारे ।
सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उनले विरोध जनाए । संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढंगले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रिपरिषदबाट नमिल्ने काम गरी दुस्साहस भएको उनको टिप्पणी थियो ।