नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित

काठमाडौं ।  आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित हुँदै प्रतियोगितामा जितविहीन बनेको हो ।

अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्रै बनाउन सक्यो । नेपालका कप्तान पूजा महतोले १८ रन बनाउँदा अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ अष्ट्रेलियाका हसरत गिल, जुलिएटे मोर्टोन र लिलि बसिङवेइटेले दुई–दुई विकेट लिए भने क्लोए अइन्सवर्थले एक विकेट लिइन् ।

त्यसअघि मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल बनायो । अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् । उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोए अइन्सवर्थले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् । अष्ट्रेलिया विश्वकपको सिक्समा छनोट भइसकेको छ । नेपालले यसअघि खेलको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर