डोनाल्ड ट्रम्पद्वारा ४७औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण

काठमाडौं । अमेरिकाका रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रधानन्यायाधीश जोन रोवर्टले शपथ ग्रहण गराए । यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको शपथ लिएका थिए । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा शपथ लिएसँगै उनको ह्वाइट हाउसमा दोस्रो कार्यकाल सुरु भएको छ ।

राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्वराष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो । राष्ट्रपतिको शपथ ग्रहणलगत्तै गरेको सम्बोधनमा नेता ट्रम्पले भने, “आजबाट अमेरिकाको स्वर्णयुग सुरु भएको छ । अब हाम्रो देश समृद्ध हुनेछ र सम्मानित हुनेछ ।” उनले अगाडि भने, “म स्पष्ट छु म सधैं अमेरिकालाई पहिलो स्थानमा राख्नेछु।”

“अमेरिकाको सार्वभौमिकता पुनर्स्थापित हुनेछ, सुरक्षा पुनर्स्थापित हुनेछ र न्यायको सन्तुलन कायम राखिनेछ,” उनले भने। ट्रम्पले न्याय विभागको अनुचित र पक्षपातपूर्ण प्रयोगको अन्त्य हुने पनि बताए । राष्ट्रपति ट्रम्पले भने, “हाम्रो पहिलो प्राथमिकता गौरव, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण देश निर्माण गर्नु हो ।” डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेपछि आफ्नो योजनाबारे जानकारी पनि दिए।

उनले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा तत्काल हस्ताक्षर गर्ने बताए । ट्रम्पले अवैध प्रवेश तत्काल रोकिने र सरकारले लाखौँ ‘आपराधिक आप्रवासी’लाई आफ्नो देशबाट निर्वासित गर्ने प्रक्रिया सुरु गर्ने बताए । सामान्यतया अमेरिकी क्यापिटल बाहिर हुने शपथ ग्रहण समारोह यस पटक चिसोका कारण हलमा गरिएको थियो ।

दुई सय भन्दा बढी निर्णयमा हस्ताक्षर हुने सम्भावना

शपथ लिएपछि ट्रम्पले करिब दुई सय कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको छ । यीमध्ये केही निर्णय कानुनजस्तै कार्यान्वयन हुनेछन् भने केही घोषणा हुनेछन् । कार्यकारी आदेश राष्ट्रपतिको एक प्रकारको आदेश हो । यसलाई कार्यान्वयन गर्न कंग्रेसको अनुमोदन आवश्यक पर्दैन । आदेश कानून सरकारका नीतिहरू लागू गर्ने एक तरिका हो, तर तिनीहरूलाई अदालतमा चुनौती दिन सकिन्छ ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गरेका थिए जसमध्ये धेरै अदालतमा विवादको हिस्सा बनेका थिए । यसको तुलनामा जो बाइडेनले १६०, ओबामाले २७७ र बुशले २९१ आदेश जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर