अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ६० मिलिग्राम सहित प्रहरीले आइतबार दिउँसो दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र सोही उपमहानगरपालिका–१३ झलारी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकलमा आएका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम सहित प्रहरीले आइतबार बेलुकी दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१ शिवनगर बस्ने २२ वर्षीया अस्मीता चौधरी र सोही उपमहानगरपालिका–९ बस्ने २२ वर्षीया रमिता चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै, धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित प्रहरीले आइतबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भएका २४ वर्षीय मीन बहादुर बिष्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलासस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित प्रहरीले आइतबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका–४ पिपल चोक बस्ने २५ वर्षीय मोहित यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ ट्याब्लेट र स्पास्पेन ४ ट्याब्लेट सहित प्रहरीले आइतबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–४ बस्ने ३० वर्षीय इकरार सारू रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित प्रहरीले आइतबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने २८ वर्षीय सागर जोशी र सोही नगरपालिका–६ बस्ने २७ वर्षीय निरज बहादुर चन्द रहेका छन् । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।