इजरेल सरकारद्वारा युद्धविराम सम्झौता अनुमोदन

काठमाडौं ।  इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेसँगै आइतवारबाट त्यो कार्यान्वयनमा आउने बाटो खुलेको बीबीसी नेपालीले जनाएको छ ।  शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो। यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरेलको सुरक्षा क्याबिनेटले सरकारलाई सिफारिस गरेको थियो। जसमा सम्झौताले “यस युद्धको उद्देश्य अन्तर्गतको उपलब्धीलाई साथ दिने” उल्लेख गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। दुईजना दक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विपक्षमा मतदान गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले जनाएअनुसार सम्झौता अनुमोदन भएसँगै पहिलो बन्धकहरूको रिहाइ निर्धारित योजनाबमोजिम आइतवारबाटै सुरु हुनेछ। सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएको इजरेलले जनाएको छ। हमासनिकट एक स्रोतले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन्। कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरेको यस सम्झौता अनुसार पहिलो चरण झण्डै छ साता लामो हुनेछ।

जसक्रममा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन्। त्यसको साटो इजरेली जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू समेत छाडिनेछ। शुक्रवार इजरेलको न्याय मन्त्रालयले पहिलो आदानप्रदानका क्रममा छाडिने ९५ जना प्यालेस्टिनी बन्दीहरूको सूची सार्वजनिक गरेको थियो। समाचार संस्था एएफपीका अनुसार त्यसमा ६९ जना महिला, १६ जना पुरुष र १० जना बालबालिकाहरू छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर