भक्तपुरमा भूकम्प इन्जिनियरिङबारे राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प दिवसको अवसर पारेर भूकम्प इन्जिनियरिङको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
  नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सम्मेलनको उद्घाटन गर्दै देशको सन्तुलित विकासले गरिबी उन्मूलन सम्भव हुने र संसारभर शान्ति आवश्यक परेको बताए ।  ।
बस्ती विकास गर्दा स्थानीय तहहरुले भूकम्प र विपद् जोखिम न्युनीकरण गरी आवश्यकताअनुसारको आवास क्षेत्र विकास गर्नुपर्नेमा जोड दिँदै उनले भौतिक संरचना निर्माणमा हुने कमी कमजोरी र लापरबाहीका कारण विपद्मा धेरै हानी नोक्सानी पु-याउने हुँदा अनुगमनलाई प्रभावकारी ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
सांसद सुवालले उपभोक्ताबाट हुनुपर्ने काम ठेकेदार र कन्सलटेन्टमार्फत सञ्चालन हुँदा सरकार निरीह र कमजोर हुँदै गएको बताउँदै उनले ठेकेदारहरुबाट हुने काम कमसल पनि हुने गरेको बताए । भूगर्भशास्त्रीहरुका अनुसार उपत्यकाको माटो झन् झन् कमजोर हुँदै गएको र गह्रौं संरचनाको भारी उपत्यकाले ठेग्न नसक्ने अवस्थामा पुगेको बताउँदै उनले इन्जिनियर, प्राविधिक र भूगर्भशास्त्रीले यस विषयमा अध्ययन अनुसन्धानतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । भूकम्पीय क्षति न्युनीकरणको लागि निर्माण सामाग्रीहरुको गुणस्तर जाँच हुनु आवश्यक रहेको बताउँदै उनले निर्माण क्षेत्रमा लाग्ने व्यापार व्यवसायीहरु इमानदार हुनुपर्ने र दक्ष जनशक्तिको खाँचो रहेको बताए ।  ।
देश कमजोर हुनुमा कन्सल्लटेन्ट र ठेकेदारहरु पनि दोषी रहेको बताउँदै देशको सन्तुलित विकासले पनि देशको अर्थतन्त्रलाई पनि बलियो पार्ने धारणा सांसद सुवालले व्यक्त  गरे । कुनै पनि क्षेत्र र संरचना निर्माण गर्दा त्यसको जग नै बलियो पार्नु पर्नेतर्फ जोड दिँदै उनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्मेलनमा संसारकै जोखिम न्युनीकरणबारे छलफल र चर्चा हुनुपर्ने बताए ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले अध्ययन अनुसन्धानलाई अगाडि बढाउँदै वैज्ञानिक शिक्षामा जोड दिँदै आएको बताए । । यी कलेजहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गरी भूकम्पबाट हुने जनधनको क्षति न्युनीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि सम्पूर्ण पूर्वाधारहरु तयार गरिसक्दा पनि सरकारले विश्वविद्यालय सञ्चालन स्वीकृति दिन ढिलाइ गरिरहेको बताउँदै उनले सस्तो र गुण्स्तरीय शिक्षामा जोड दिँदै आएको भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न प्रस्ताव गर्ने नेपालकै पहिलो नगरपालिका भएको बताए ।
उपप्रमुख रजनी जोशीले कलेजले आयोजना गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गरी समाजको मात्र नभई सिंगो देशकै गरिमा बढाउने कार्य गर्दै आएको बताइन । विनाशकारी भूकम्पपश्चात यी कलेजहरुले भक्तपुरको पुनःनिर्माण कार्यमा धेरै योगदान पु-याएको उल्लेख गर्दै उनले भूकम्प विनास सँगसँगै नयाँ नयाँ कुरा सिक्ने अवसर पनि भएको बताइन् ।
विश्वविद्यालय अनुदान आयोगका कार्यक्रम अफिसर दिनेश प्रजापतिले आयोगले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा गरिरहेको क्रियाकलापहरुबारे अवगत गराउँदै भूकम्पको  हिसाबले नेपाल अति संवेदनशील देश भएको र विपद्को प्रभावकारी समाधान विकास गर्न सम्मेलन उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर