मकर संक्रान्तिको अवसरमा रुरु क्षेत्र र देवघाटमा भक्तजनको घुइँचो

काठमाडौं ।  चितवनको देवघाटमा आजबाट ऐतिहासिक मकर स्नान तथा देवघाट महामहोत्सव सुरु भएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको उद्घाटन देश-विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थिति रहने उद्घाटन समारोह दिउँसो १ बजे भव्य रूपमा सम्पन्न हुनेछ ।

नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वति जी महाराजको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अन्य विशिष्ट अतिथिहरु १००८ स्वामी रमनानन्द जी महाराज, १००८ जगन्नाथाचार्य स्वामी जी महाराज, १००८ हरिशरण स्वामी जी महाराजलगायत प्रतिष्ठित धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।

यसैगरी आज हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट-३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । “नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उनंले भने, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।” कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै अध्यक्ष तिवारीले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताए ।

चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने हुँदा नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न अनुरोध गरिएको छ । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको छ । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको र बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ ।

रुरु क्षेत्र र ऋषिकेश मन्दिरमा भक्तजनको घुइँचो

यसैगरी आज माघे संक्रान्ति मेलाको अवसरमा चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालीगण्डकी नदी किनारमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । कालीगण्डकी नदी स्थान गरी भगवान् ऋषिकेशको दर्शन गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । मेला भर्नका लागि नेपालका विभिन्न जिल्लासँगै छिमेकी मुलुक भारतबाट पनि भक्तजनको बाक्लो उपस्थिति रहेको छ । आजका दिन कालीगण्डकी स्नान गरेमा पृतृ मोक्ष, मानोकाँक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् । जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋषिकेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रमसहित, बाल उद्यान, कृषि मेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर