तिब्बतमा ५.२ र जापानमा ६.९ म्याग्निच्युडको भूकम्प, तिब्बतको भूकम्प काठमाडौंमा पनि महसुस
काठमाडौं । काठमाडौं उपत्यकालगायत आसपासको जिल्लामा हिजो सोमबार साँझ भूकम्पको धक्का महसुस भएको छ। काठमाडौं र वरपरका जिल्लामा हिजो साँझ ६ बजेर ४२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार चीनको तिब्बत केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का चीनसँगै बंगलादेश, नेपाल र भारतमा पनि महसुस गरिएको थियो। यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस क्षेत्रमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ।
यसैबीच जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९ः१९ बजे गएको हो। जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ। स्थानीय अधिकारीहरूले सतर्क रहन आग्रह गरेका छन्।