शृंगार पसलमा आगलागी : एक करोडबराबरको क्षति

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक शृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

खान शृंगार स्टोरको ठूलो र सानो गरी दुई गोदाममा विद्युत सर्ट भई लागेको आगलागीबाट जुत्ता, चप्पल, सौन्दर्यका साम्रगीसहित कस्मेटिक्सका कच्चा पदार्थ जलेर नष्ट भएको सञ्चालक अन्जित खानले बताए । ‘ठूलो गोदाम नै जलेर नष्ट भएको छ, निकालेको सामान प्रयोग हुने अवस्थामा भए नभएको यकिन छैन’ सञ्चालक खानले भने ।
राति साढे ८ बजेदेखि लागेको आगलागी साढे ११ बजे पूर्णरूपमा निभाइएको थियो । बेनी नगरपालिकाको दमकल, नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीय वासिन्दा समयमै पुगेकाले पनि थप आसपासमा क्षति हुन नपाएको बताइएको छ । खान शृंगार म्याग्दीको सबैभन्दा ठूलो खुद्रा तथा होलसेल पसल हो । नेपाल बाल संगठनको भवनमा रहेको उक्त पसलको माथिल्लो तलामा रहेको गोदामबाहेक अन्यत्र कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर