उपचारसँग सम्बन्धित चश्मामा भ्याट र भन्सार नलाग्ने घोषणा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उनले उक्त जानकारी दिएका हुन् । उनले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरे ।
उनले भने, ‘‘चश्माको कुरा गर्नुभएको छ । चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ । अरू पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरु बाहिरबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सामानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’’
उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने बताए । ‘‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्त्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढङ्गबाट काम गराँै ।,’’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘‘उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोसिस गरौँ । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौँ । ठुला–ठुला भवनभन्दा साना–साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ ।’’
मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको जानकारी पनि दिए ।