लस एन्जलस डढेलो : धेरै हलिउड स्टारहरूको घर चपेटामा
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको प्रमुख शहर लस एन्जलस (एलए) यतिबेला जंगलमा फैलिएको डढेलोको चपेटामा परेको छ । डढेलो यति छिटो छिटो शहरमा फैलिरहेको छ कि नियन्त्रण गर्न झन् झन् सकस पर्दै गएको छ । डढेलो जंगल नजिकैको आवासीय क्षेत्रहरूसम्म पुगेको छ । डढेलोमा परेर धेरै घरहरू जलेका छन् भने सवारीसाधनहरू पनि खरानी भएका छन् । अहिलेसम्म हजारौँ मानिसहरूले आफ्नो घर खाली गराइसकेका छन् ।
मंगलबारदेखि डढेलो सुरु भए यताको तीन दिनमा ४ हजार ८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । आगलागीका कारण करिब १ हजार ९०० भवनहरू पूर्ण रूपमा जलेका छन् भने २८ हजार घरहरू क्षतिग्रस्त भएको बताइएको छ । डढेलोका कारण अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । करिब ५० हजार मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न भनिएको छ ।
करिब ३ लाख मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रशासनले शहरमा आपत्काल घोषणा गरेको छ । तीव्र गतिमा बहिरहेको हावाका कारण धेरै ठाउँहरूमा आगोको आँधी जस्तो स्थिति उत्पन्न भएको छ । आगलागीका कारण एलएको ब्रेटनवुड क्षेत्रमा रहेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ । एलए अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको काउन्टी हो । यहाँ १ करोडभन्दा बढी मानिसहरू बसोबास गर्छन् । आगलागीले शहरको पालिसेड्स क्षेत्रमा रहेका धेरै हलिउड स्टारहरूको बङ्गलाहरू खरानी भएका छन् ।
पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एश्टन कुचरलगायत धेरै हलिउड स्टारहरूको घर डढेलोको चपेटामा आएको छ । अन्य कयौँ सेलिब्रेटीहरूले घर छोड्नु परेको छ । डढेलोले हलिउड हिल्समा रहेको अमेरिकी फिल्म उद्योगको पहिचानको रुपमा रहेको ‘हलिउड बोर्ड’ लाई पनि जलाउने हो कि भन्न चिन्ता गर्न थालिएको छ ।
एलएमा हलिउड नामको एउटा ठाउँ छ । यही नामबाट अमेरिकी फिल्म उद्योगको नाम हलिउड राखिएको हो । डढेलोको असर ओस्कर अवार्ड २०२५ मा पनि परेको छ । एकेडेमी अफ मोशन पिक्चर आट्र्स एण्ड साइन्सेसले ओस्कर मनोनयन मतदान विन्डो स्थगित गरेको छ । जनवरी ८ मा लगभग १०,००० एकेडेमी सदस्यहरूको लागि मतदान सुरु भएको थियो । मतदान जनवरी १२ मा बन्द हुँदैनथ्यो । तर डढेलो प्रभावित सदस्यको मतदानका लागि म्याद जनवरी १४ सम्म बढाइएको खबरहरू आइरहेको छ ।