मुग्लिन-मलेखु सडक स्तरोन्नति : अब सवारीसाधनलाई नरोकिने

काठमाडौं ।  पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडक स्तरोन्नतिका क्रममा सवारी सञ्चालन गर्न नरोकिने भएको छ । गत हप्ता दिउँसोमा सवारीसाधन रोकेर स्तरोन्नतिका काम गरिएका थियो । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (मुग्लिन-नारायणगढ) का इञ्जिनियर विजय दराइका अनुसार यही पुस ७ देखि १३ गतेसम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी सञ्चालन गरेरै धमाधम काम गरिएको हो ।

सो समयमा दिउँसो ११ बजेदेखि २ बजेसम्म सवारी रोकेर सडकको विशालटार, खटौटीलगायतका क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । उनले भने, “अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौँ ।” निर्माण कम्पनीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म २० प्रतिशत मात्र काम भएको जनाइएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। कुरिनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सव-बेसको काम भइरहेको छ ।

मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यस खण्डमा विस्तारको काम भइरहेको हो । निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँमा दुई लेन  नौ मिटर फराकिलो सडक बनाइँदैछ । उकालो ठाउँमा तीन लेन १२ मिटरको हुने छ । झण्डै एक दशमलब पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ ।

बजार क्षेत्र कुरिनटार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटारलगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात १८ मिटर फराकीलो सडक बनाइँदै छ । मुग्लिन, बेनीघाट र मलेखु बजारमा छ लेन २६ मिटर फराकिलो सडक बनाइँदै छ । एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।

मुग्लिन-नागढुङ्गा सडक खण्डलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतिको काम गरिएको हो । बिश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । निर्माण कम्पनीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । संघीय राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चाप छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुले कठिनाइ भोग्नु परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर