ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र पानामा नहर नियन्त्रणमा लिने बताएका छन् । यी दुबै अमेरिकाको राष्ट्रिय सुरक्षामा अहम भएको उनको भनाइ छ । ग्रिनल्यान्ड र पानामा नहर कब्जामा लिन सैन्य वा आर्थिक बल लगाउनु हुन्छ कि हुन्न भनेर सोधिएको प्रश्नमा उनले यी दुई मध्ये कुनै पनि आश्वस्त पार्न नसक्ने बताए । तर आर्थिक सुरक्षाका लागि दुबै अमेरिकालाई चाहिएको चाहिँ भन्न सक्ने उनले बताए ।
फ्लोरिडामा रहेको मार–अ–लागो होटलमा पत्रकार सम्मेलनमा क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । ट्रम्प आफ्नो अभिव्यक्तिमा कत्तिको गम्भीर छन् भन्ने स्पष्ट छैन । डेनमार्क र पानामा दुबैले आफ्नो भुभाग त्याग्ने संकेत अस्वीकार गरेका छन् । क्यानडा छुट्याउने कुरामा पनि ट्रम्पले आर्थिक बल लगाउने कशम खाएका थिए । अमेरिका र क्यानडाको जोडिएको सीमालाई उनले कृत्रिम रुपमा खिचिएको सीमा भनेका छन् ।