तिब्बतमा गएको भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु

काठमाडौं । आज मंगलबार बिहान तिब्बतको सिगात्से सहर केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म ३६ जनाको मृत्यु पुष्टि भएको छ। चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले उक्त धक्का ६.८ म्याग्निच्युडको भएको जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो । यो क्षति प्रारम्भिक विवरण मात्र हो। विस्तृत विवरण आउन बाँकी छ। उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।

यता राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले भने नेपालमा उक्त भूकम्पका कारण मानवीय क्षति नभएको जानकारी गराएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

यसैबीच सोलुखुम्बुमा भएको क्षतिको विवरण सङ्कलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय स्थानीय पालिकाका जनप्रतिनिधिसँग पनि समन्वय गरिरहेका छौँ ।”

उनले तिब्बतको सिमाना जोडिएको जिल्लाको खुम्बु क्षेत्रमा भूकम्पको क्षतिको पु¥याएको अनुमान गरेको बताए। खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भूकम्पबाट लबुचे आसपासमा क्षति गराएको हुनसक्ने जानकारी दिए। “लबुचेमा केही क्षति भयो कि भन्ने लागेर त्यहाँ हाम्रो टोली खटिएको छ, पुग्न केही समय लाग्न सक्छ तर टेलिफोन सम्पर्क कमजोर भएकाले विवरण सङ्कलनमा समस्या भएको छ”, उनले भने । भूकम्पको धक्का महसुस भएपछि जिल्ला सदरमुकाम सल्लेरीवासी घरबाहिर निस्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर