अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तव्यस्त
काठमाडौं । अमेरिकाको जनजीवन हिउँदे आँधीका कारण अस्तव्यस्त भएको छ । अमेरिकामा आएको हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएको बीबीसीले जनाएको । जसका कारण सरकारले आपत्काल घोषणा गरेको छ ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, न्युजर्सी, मिसुरी, केनसास, अरकनसालगायत राज्यमा आपत्काल अवस्थाको घोषणा गरिएको छ । ती राज्यका विमानस्थलहरूमा हिउँ जमेको छ । जसका कारण विमानस्थल बन्द गरिएको छ । साथै प्रशासनले सडक मार्गको प्रयोग नगर्न पनि चेतावनी दिएको छ । हजारौँ उडान रद्द भएका छन् भने विद्यालयहरू बन्द गरिएको छ ।
उच्च मात्रामा हिमपात भएसँगै पछिल्लो एक दशकयताको रेकर्ड तोड्दै चिसो बढेको छ । केनसास र मिसुरी हालसम्म सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । केही स्थानमा १० इन्चसम्म हिउँ जमेको बताइएको छ । केनसासका एक अधिकारी ब्रायन प्लान्टलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिउँ परेको देखेको थिइनँ ।”
त्यहाँको मौसम विभागले मुलुकको मध्य भागदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको स्थिति गम्भीर हुन सक्ने चेतावनी दिएको छ । मौसम विभागका वैज्ञानिकहरूका अनुसार खराब मौसमका कारण ध्रुवीय चिसो हावा आउने सम्भावना छ ।