इपिएल : आर्सनललाई उपाधि होडमा धक्का
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई उपाधि होडमा धक्का लागेको छ । शनिबार राति भएको खेलमा ब्राइटनसँग एक एक गोलको बराबरी खेले पछि शीर्ष स्थानको लिभरपुलसँग अंक घटाउने अवसर आर्सनलले गुमाएको हो । आर्सनल अहिले २० खेलबाट ४० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । २ खेल कम खेलेको लिभरपुल ४५ अंकका साथ शीर्ष स्थानमा छ ।ब्राइटन भने २८ अंकका साथ १० औं स्थानमा रहेको छ ।
अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा ब्राइटनले दोस्रो हाफको पेनाल्टीमार्फत बराबरी गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो ।पहिलो हाफको १६ औं मिनेटमा आर्सनलका युवा खेलाडी इथन न्वानेरीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ६१ औं मिनेटमा जोआओ पेड्रोको पेनाल्टी गोलले ब्राइटनलाई खेलमा फर्काएका थिए । आर्सनलका प्रतिस्पर्धी अरने स्लटको टोली लिभरपुलले अब म्यानचेस्टर युनाइटेड र एभर्टनविरुद्ध जित निकाल्न सके दूरी ११ अंकले बढाउन सक्छ ।