रियल म्याड्रिडको रोमाञ्चक खेलमा जित
काठमाडौं । स्पेनिस लालिगामा अधिकांश समय १-० ले पछि रहेको रियल म्याड्रिडले अन्तिम समय २ गोल गर्दै रोमाञ्चकरुपमा २-१ को जित निकालेको छ। हुगो डुरोको गोलमार्फत भ्यालेन्सियाले २७ औं मिनेटमा अग्रता बनाएको थियो। अधिकांश समय अग्रता जोगाएको भ्यालेन्सियाले १० खेलाडीमा समेटिएको रियलविरुद्ध अन्तिम समयमा २ गोल खान पुगेको थियो।
७९ औं मिनेटमा रियल १० खेलाडीमा समेटियो। भिनिसियस जुनियर रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए। त्यसअघि ५५ औं मिनेटमा जुड बेलिङ्घमले पेनाल्टी चुकाउँदै खेल बराबरी गर्ने मौका खेर फाले तर ८५ औ मिनेटमा लुका मोड्रिकले बेलिङ्घकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।
टिमका लागि निर्णायक गोल भने इन्जुरी समयको अन्तिम समयमा बेलिङ्घमलेनै गर्दै रियललाई महत्वपूर्ण तीन अङ्क दिलाए। जितपछि रियल म्याड्रिड ४३ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४१ अङ्क रहँदा ३८ अङ्क जोडेको बार्सिलोना तेस्रो स्थानमा छ।