५ महिनासम्म सूर्यविनायकको अपेक्षाकृत रुपमा बजेट खर्च हुन सकेन (भिडियो सहित )
भक्तपुर । सूर्यविनायक नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कूल बजेटको १६.०१ प्रतिशतमात्र बजेट खर्च गरेको छ ।
आज नगरपालिकाको सत्रौं अधिवेशनमा यस्तो जानकारी दिइएको हो ।
नगरको चालू आर्थिक वर्षको कूल बजेट १ अर्ब ४० करोड ३७ लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेको थियो । पाँच महिनामा नगरको कूल बजेटको ३५ करोड ८६ लाख ५० हजार रुपैयाँ खर्च भएको नगरप्रमुख बासुदेव थापाले बताए । नगरपालिकाको चालू खर्चतर्फ २३ करोड ४१ लाख ९१ हजार रुपैयाँ र पूँजिगततर्फ १२ करोड ४४ लाख ५९ हजार खर्च भएको छ ।
प्रमुख थापाले चालू आर्थिक वर्षको दुई महिना बर्खा, लगत्तै चाडपर्व जस्ता कारणले अपेक्षाकृत रुपमा बजेट खर्च हुन नसकेको बताए । उनले चालू आर्थिक वर्षका बाँकी ७ महिना योजना कार्यान्वयनमा जाने चरणमा रहेकाले त्यसपछि बजेट खर्चको अवस्था सुधार हुने समेत बताए ।
यसैगरी, नगरपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा ११ करोड ८८ लाख ५ हजार ७ सय ३ रूपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६० प्रतिशत रकम बढी राजस्व संकलन गरेको उपप्रमुख सरिता तिमसिना भट्टराईले जानकारी दिइन् । उनका अनुसार गत आर्थिक वर्षको पाँच महिनामा नगरपालिकाले ११ करोड २४ लाख ९० हजार ८ सय ५१ रूपैयाँ राजस्व संकलन गरेको थियो । नगरपालिकाले चालू आर्थिक वर्षमा ४३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
उपप्रमुख भट्टराईले चालू आर्थिक वर्ष २०८१/८२ मा नगर सभाबाट स्वीकृत ३०३, नगर कार्यपालिकाबाट स्वीकृत ३५, संघ/प्रदेशबाट अख्तियार प्राप्त ३१ र विपद् व्यवस्थापनका लागि नगर कार्यपालिकाबाट स्वीकृत २१ गरी जम्मा ३९० वटा योजना रहेकोमा हाल सम्म १२० वटा योजनाहरु सम्झौता भई योजना अनुगमन गरी ३४ वटा योजना फरफारक गरिएको बताइन् ।
अधिवेशनमा विधायन समितिका संयोजक प्रदिप कार्की, राजस्व परामर्श समिति एवं न्यायिक समितिका संयोजक सरिता तिमसिना, सार्वजनिक लेखा समितिका संयोजक राजकुमार जोशी, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेत, पूर्वाधार विकास समितिका संयोजक शिवराम राउत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भगवान खत्री र सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिका संयोजक सानुकाजी कायस्थले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।