सरकारविरुद्ध आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । यही पुष २७ गते शनिबार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुनेगरी ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्ने र सोहीअनुसार चरणबद्ध आन्दोलन गर्ने जनाएको हो ।

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माण उद्योगप्रतिको सरकारले उदाशीनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको भन्दै यही पुष २७ गते ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्ने र सोही भेलाको म्याण्डेट अनुसार आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गरिने जानकारी गराएका छन् ।

महासंघले खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्वपूर्ण क्षेत्र निर्माण भएपनि व्यवसायीहरूले हाल अत्यन्तै जटिल समस्याहरू र त्यसको प्रभाव भोगिरहनु परेको जनाएका छन् । राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आंशिक भुक्तानी समेत विनियोजित बजेटबाट मात्र भुक्तानी भएको हुँदा यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानीको समस्याले पुनः जटिल रुप लिनसक्ने पनि महासंघको भनाइ छ ।

महासंघका अनुसार निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकास हुने भनी प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक मञ्चहरूबाटै पटक पटक प्रतिबद्धता जनाएपनि तद्धनरुप भुक्तानी नहुँदा निर्माण उद्योगमा मात्र नभइ मुलुकको समग्र आर्थिक चक्रमा ठूलो समस्या उत्पन्न भइसकेको छ ।  महासंघले समस्या समाधानका लागि प्रधानमन्त्रीसहित विकास मन्त्रालयका मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू, महानिर्देशकहरूलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउँदा समेत ठोस सुनुवाइ नभएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर