पहाडमा बदली, तराईमा हुस्सुसँगै चिसो स्याँठ
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईका केही स्थानहरूमा हुस्सु लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। रातिभने देशैभरीको मौसम मुख्यतया सफा रहने सम्भावना रहनेछ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु-याएको छ । चिसोकै कारण अहिले मधेसको सदरमुकाम जलेश्वरसहित जिल्लाका सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् ।