सदर चिडियाखाना राति पनि सञ्चालन गरौँँ : प्रमुख महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालिन चिडियाखानाको रुपमा विकास गर्नका लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आइतबार आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सवमा उनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरु सबै पूरा गरिसकेको दाबी गरे ।
उनले सदर चिडियाखानालाई रात्रिकालीन रुपमा चलाउनका लागि सम्भव भए÷नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । उनले ललितपुर महानगरमा रात्रिकालीन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालीन क्रियाकलापहरुको थालनी गर्नुपर्ने बताए ।
उनले भने, ‘‘चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं । विदेशतिर रात्रिकालीन जू हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटी अध्ययन गरौं न’’, प्रमुख महर्जनले भने, ‘‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नका लागि विशेष अनुरोध गर्न चाहन्छु ।’’