लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रिनरी पार्क निर्माण गर्ने घोषणा

काठमाडौं ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्त पाताल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रिनरी पार्क निर्माण गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको २९औं वार्षिकोत्सव समारोहमा महर्जनले उक्त योजनाबारे जानकारी गराए .। उनले भने, ‘लगनखेलमा सप्त पाताल पोखरी र आर्मीबाट फिर्ता लिएको ३० रोपनी जग्गा गर्दा ४५ रोपनी जग्गामा पोखरी, ग्रिनरी  पार्कहरु बनाउँदै छौं । यो ठाँउको निमित्त पानीको व्यववस्थापन गर्नु आवश्यक छ ।’

महर्जनका अनुसार परापूर्वकालदेखि चल्दै आएको राजकुलोलाई पुनः सञ्चालनमा ल्याई सप्त पाताल पोखरी र कमल पोखरीमा पानी पुर्‍याउने योजना  छ । यो राजकुलो टिका भैरवबाट सुरु भई लगनखेलसम्म जोड्ने योजना बनाइएको छ ।

तर, असोज ११ र १२ गते परेको भारी वर्षाका कारण राजकुलोको स्ट्रिम निर्माण कार्यमा समस्या आएको बताउँदै महर्जनले भने, ‘परापूर्वकालदेखि नै राजकुलो, सप्त पाताल पोखरी लगनखेलबाट १४.२ किलोमिटर दक्षिणपट्टि छ । टिका भैरवबाट राजकुलोमा आजभोलि नै देखिने काम सुरु हुन गइरहेको छ । तर, एउटा दुखको कुरा हाम्रो यो प्रोजेक्ट लन्च गरिसकेपछि असोज ११/१२ गते जुन  किसिमले पानी पर्‍यो त्यसले नन्दुबाट टिका भैरवसम्म स्ट्रिम जोड्ने काममा अवरोध भएको छ ।’

उनले आफ्नो कार्यकालका बाँकी दुई वर्षभित्र परियोजना सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे । ‘म चाहन्छु, यो फेरि मेरो दोस्रो कार्यकालको साढे दुईवर्ष भइसक्यो । अब साढे दुईवर्षमात्रै बाँकी छ । त्यो साढे दुई वर्षको दौरानमा राजकुलो ल्याएर लगनखेलको सप्त पाताल पोखरी र कमल पोखरीमा कमलको फूल फुलाउने योजना छ । म कमलको फूल त फुलाउँछु नै,’ उनले जोड दिएर भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर