हेटौंडा र काठमाडौं जोड्ने दुई सडक एकतर्फी सञ्चालन
काठमाडौं । मकवानपुरको हेटौंडा र काठमाडौं जोड्ने दुई सडक एकतर्फी सञ्चालन गरिने भएको छ । कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक र फर्पिङ टल्कु-हुमाने सडक खण्डमा एकतर्फी सञ्चालन गरिने भएको हो ।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र जिल्ला प्रशासन कार्यालय, मकवानपुर पत्राचार गर्दै दुबै सडकको निर्माण भइरहेकोले अर्को सूचना नभएसम्मका लागि एकतर्फी सवारीका साधन सञ्चालन गर्ने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
राजधानी पूर्वाधार विकास विशेष आयोजना, हेटौंडाअन्तर्गत कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडकको दक्षिणकाली–छैमले खण्डमा र फर्पिङ–टल्कु–हुमाने सडक खण्डको तेस्रो प्याकेज अन्तर्गत देवीदेखि दक्षिणकाली नगरपालिका ९ को कार्यालयसम्मको सडक निर्माण कार्य भइरहेको नगरपालिकाले जनाएको छ । आयोजनाका सूचना अधिकारी राजन गौतमले काठमाडौंतर्फ छैमले-दक्षिणकाली सडकमा काम भइरहेको जानकारी दिए ।
काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई कुलेखानी-सिस्नेरी छैमले-दक्षिणकाली फर्पिङतर्फ एकतर्फी आउने मात्र र मकवानपुरतर्फ जाने सवारीसाधनहरूलाई फर्पिङ–टल्कु–हुमाने हुँदै एकतर्फी रूपमा जाने गरी व्यवस्था गर्न सहजीकरणमा सहयोग गर्न दक्षिणकाली नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र जिल्ला प्रशासन कार्यालय, मकवानपुर पत्राचार गरेको छ ।