सोलुखुम्बुमा माइनस तापक्रम हुँदा खानेपानी आपूर्तिमा समस्या
काठमाडौं । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकको दैनिकी प्रभावित भएको छ । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो ।
चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताए । पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पढनपाठन प्रभावित भएको छ भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ”, उनले भने । चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ । पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताए । उनले भने, “चिसोका कारण बिरामी धेरै वृद्धि भएको छ, आकस्मिक कक्ष त्यत्तिकै भरिभराउ छभने शय्यासमेत खाली छैन, केही दिनअघि पनि शय्या अभावमा भुइँमा राखेर पनि बिरामीको उपचार गरिरहेका छौँ ।”
खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय बन्द भएको लुक्लाका तोयाकुमार श्रेष्ठले बताए । अधिकांश विद्यालय बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिए । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बु क्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् ।
पानी आपूर्तिमा समस्या
जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाले बताउनुभयो ।
यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्रभावित बनेको छभने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् । धारा बन्द गरेर राख्दा पानी पाइपमा जम्ने भएकाले खुला नै छाड्ने गरेको स्थानीयले बताएका छन् । बेलुका धारा बन्द हुँदा रातको समयको चिसोमा जमेको पानी घाम नलागेसम्म नपग्लिने गरेको नाम्चेका नुरु शेर्पाले बताए ।