भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि सम्पन्न
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
उनीप्रति सम्मान व्यक्त गर्न राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरे । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो ।
काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धी पनि आफ्ना पूर्वनेता र पूर्वप्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उनको निवासबाट श्रद्धाञ्जलिका लागि दिल्लीस्थित अल इन्डिया कङ्ग्रेस कमिटी (एआईसीसी) को मुख्यालयमा ल्याइएको थियो ।
दिल्लीस्थित पूर्वप्रधानमन्त्रीको निवासबाहिर पनि श्रद्धाञ्जलि अर्पण गर्न कैयौँ मानिस भेला भएका थिए । यसअघि शुक्रबार मन्त्रिपरिषद्को बैठकपछि गृहमन्त्री अमित शाहले काङ्ग्रेस अध्यक्ष खड़गे र स्वर्गीय सिंहको परिवारलाई सरकारले स्मारकका लागि ठाउँ छुट्याइने जानकारी गराएको थियो । उनले लामो समय भारतीय राजनीतिमा सक्रिय थिए । विशेषगरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थव्यवस्थाको आधुनिकीकरणमा उनको योगदानको लागि सम्झना गरिन्छ ।