दुई तिहाइको सरकारमाथि बालेनको तीखो आलोचना
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीनकुनेस्थित व्यक्तिबाट सरकारले कब्जा गरेको जग्गाको मुआब्जा अहिलेसम्म नदिएको भन्दै केन्द्र सरकारको आलोचना गरेका छन्। आज शुक्रबार आयोजित कोटेश्वर महोत्सवको उद्घाटन समारोहमा मेयर साहले पचासौँ वर्षदेखि व्यक्तिको जग्गा लुटिए पनि सरकारले त्यसबारे चासो नदिएकोमा रोष व्यक्त गरे ।
“जग्गाधनीलाई विशेष धन्यवाद। पचासौँ वर्षदेखि मुआब्जा पाउनुभएको छैन। कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो। यसपालि दुई तिहाइको सरकार छ र पनि केही गरेकै छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो। मुआब्जा दिन चाँडै प्रक्रिया होस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ”, मेयर साहले टिप्पणी गरे ।
उनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री मात्रै नभई स्थानीय सरकारको नेतृत्व गरिरहेको दल पनि सरकारमै रहँदासमेत मुआब्जा विवाद समाधान नभए अब कहिल्यै नहुने तर्क गरे। ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री पनि आफ्नै, पैसा, स्रोतसाधन पनि आफ्नै। हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ अहिले पनि काम भएन भने कहिल्यै हुँदैन’, मेयर बालेनको भनाइ थियो।